वर्षापछि किसान खुसी
सुदूरपश्चिम,माघ १९ । गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
कैलालीका किसान रामबहादुर चौधरीले भने, “वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।” किसान जागुराम रानाले वर्षाले सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानलाई ठूलो राहत मिलेको बताए ।
बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म कैलालीमा १४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले जानकारी दिए ।