दसैँको टीकाका दिन आज उपत्यकामा प्रहरीले निःशुल्क बस चलाउने
काठमाडौँ,कात्तिक ४। बडादसैँको विजया दशमीका अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल प्रहरीले आज काठमाडौँ उपत्यकामा तीनवटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार टीकाको दिन आज बिहान ८ बजेदेखि पहिलो चरण र दिउँसो ३ः३० बजेदेखि दोस्रो चरणमा बस सेवा सञ्चालन हुनेछ।
पहिलो मार्ग नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ।
दोस्रो मार्ग नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल पुग्नेछ।
त्यस्तै, तेस्रो मार्ग नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल पुग्नेछ।
दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ जाने सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

