आज विजया दशमी, बिहान १०ः२६ बजे टीकाको उत्तम साइत
काठमाडौं,कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ । साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय उत्तम मानिएको भए पनि दिनभर टीका लगाउन सकिनेछ ।
समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।
दसैँमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने गर्छन् ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमीले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको छ । यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र मेलमिलापको सन्देश दिने विश्वास गरिन्छ ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीहरू दसैँ मनाउन आफ्नो थातथलो फर्किने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको अवसरसमेत बनेको छ । घटस्थापनादेखि सुरु भएको दसैँको उल्लाससँगै आज देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइँदै छ ।

