नुवाकोट भद्रुटारका गाउँमा हराउँदै दसैँको रौनक, झाडीमा परिणत हुँदै लाखौँका घर



• भरतसन्तोषी लामा

नुवाकोट,कात्तिक ४ — छेवैमा मुख्य सडक छ। बुढिसेरा हुँदै पञ्चकन्या जोड्ने सडकको किनारमै रातो टिनले छाएको सुन्दर घर छ। फराकिलो आँगन र आकर्षक बनावट भएको यो घर कुनै समय परिवारका सदस्य, बालबालिका र पाहुनाको चहलपहलले भरिन्थ्यो। दसैँ आउँदा घरआँगनमा छुट्टै उमङ्ग छाउँथ्यो। तर अहिले त्यही घर झाडीले छोपिँदै गएको छ। आँगन सुनसान छ, घरमा न बालबालिकाको रमाइलो सुनिन्छ, न मानिसहरूको ओहोरदोहोर देखिन्छ।

यो घर नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारका टंक सिटौलाको हो। गाउँमै केही गर्ने सोचसहित उनी केही समय यही घरमा बसेका थिए। तर परिवारका सदस्यहरू सहर केन्द्रित हुँदै गएपछि उनी पनि गाउँ छाडेर सहर पस्न बाध्य भए। अहिले लाखौँ रुपैयाँ खर्चेर बनाइएको घर र जग्गा झाडीले ढाकिँदै गएको छ।

टंक सिटौलाको घर भद्रुटारको बदलिँदो ग्रामीण जीवनको एउटा प्रतिनिधि दृश्य मात्र हो। यहाँका बस्तीमा यस्ता घरको सङ्ख्या सयको हाराहारीमा रहेको स्थानीयहरू बताउँछन्। कुनै समय परिवार, छिमेकी र आफन्तको जमघटले भरिभराउ हुने घरहरू अहिले सुनसान छन्। गाउँमा घर त छन्, तर ती घरमा बस्ने मानिसको सङ्ख्या घट्दै गएको छ।

भूकम्पपछि गाउँमा नयाँ घर बनाउने क्रमसँगै सहरतर्फ बसाइँ सर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। सुरक्षित र सुविधासम्पन्न आवासको चाहना, शिक्षा, रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारहरू सहर केन्द्रित हुँदा गाउँका पुराना बस्ती क्रमशः रित्तिँदै गएका छन्। महाभूकम्पपछि गाउँ छाड्ने क्रम अझै रोकिएको छैन। गाउँमा घर बनाउने र त्यसपछि सहरमा बसोबास गर्ने प्रवृत्तिले ग्रामीण बस्तीको चहलपहल मात्र घटाएको छैन, सामाजिक सम्बन्ध र परम्परागत संस्कृतिमाथि पनि प्रभाव पारेको छ।

यसको असर दसैँजस्ता ठूला चाडपर्वमा झन् स्पष्ट देखिन थालेको छ। कुनै समय दसैँ आउनासाथ गाउँका चौतारा, खुला चौर र डाँडाकाँडा लिङ्गे पिङले सजिन्थे। पिङ खेल्न बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्मको घुइँचो लाग्थ्यो। पालो पर्खेर पिङ खेल्ने चलन थियो। पिङ मच्चिँदा गुञ्जिने ‘चचहुईं’ को आवाजले गाउँ नै उत्सवमय बन्थ्यो।

तर अहिले पञ्चकन्या–५ को चुहानडाँडा लगायत आसपासका क्षेत्रमा दसैँको त्यो पुरानो रौनक हराउँदै गएको छ। यस वर्ष गाउँका चौतारा र खुला चौरमा परम्परागत लिङ्गे पिङ देखिएनन्। ठाँटीको डिलमा समेत पिङ राखिएन। पहिले बाँस गाडेर बनाइने पिङमा रमाउने बालबालिका र युवायुवतीको चहलपहल हुने ठाउँ अहिले सुनसान देखिन्छ।

चुहानडाँडामा मात्र होइन, फुर्केसल्लामा दसैँका बेला रोटे पिङ र डोरी पिङ खेल्ने प्रतिस्पर्धासमेत हुने गर्थ्यो। पिङ खेल्न पालो पर्खिनुपर्ने अवस्था हुन्थ्यो। गाउँका मानिस एकै ठाउँमा भेला हुँदा दसैँ सामूहिक खुसी साट्ने अवसर बन्थ्यो। अहिले भने ती दृश्य सम्झनामा सीमित हुँदै गएका छन्।

स्थानीयहरूका अनुसार वैदेशिक रोजगारी र अध्ययनका सिलसिलामा युवापुस्ता गाउँबाट बाहिरिनु, गाउँमा रहेका बालबालिका तथा किशोरकिशोरी मोबाइल र सामाजिक सञ्जालतिर बढी आकर्षित हुनुजस्ता कारणले पिङ खेल्ने परम्परा कमजोर बन्दै गएको हो। गाउँमा मानिसको सङ्ख्या घटेपछि परम्परा जोगाउने र चाडपर्वमा सामूहिक गतिविधि सञ्चालन गर्ने उत्साहसमेत घटेको छ।

चुहानडाँडाका रमेश सिटौला अहिले रोजगारीका सिलसिलामा साउदी अरबमा छन्। उनी बाध्यात्मक परिस्थितिका कारण गाउँ फर्कन नसकेको बताउँछन्। लोकगायकसमेत रहेका सिटौलालाई गाउँको पुरानो वातावरण र चाडपर्वको सम्झनाले पछ्याइरहन्छ। गाउँ छाडेर विदेशिनुपरेको अवस्थालाई सम्झँदा उनी आफ्नै ‘साउदी कतार’ गीतसमेत सम्झन्छन्। उनको अनुभवले गाउँबाट बाहिरिने युवापुस्ताको बाध्यता र गाउँसँग टाढिँदै गएको सम्बन्धलाई उजागर गर्छ।

गाउँ रित्तिँदै जाँदा त्यसको प्रभाव भौतिक पूर्वाधारमा समेत देखिन थालेको छ। गाउँमा जोडिएका सडकको नियमित मर्मतसम्भार र संरक्षण हुन सकेको छैन। मानिसको अभाव र पर्याप्त संरक्षण नहुँदा कतिपय सडक झाडी र घारीले पुरिँदै गएका छन्। सडक बने पनि त्यसको उपयोग र संरक्षणमा स्थानीयको सहभागिता कमजोर हुँदै गएको छ।

यस वर्ष बुढिसेरा हुँदै पञ्चकन्या जोड्ने सडकको अवस्था सुधार गर्न स्थानीय युवाहरूले चन्दा सङ्कलन गरेर सरसफाइ गरेका छन्। सडक सफा गर्न सरकारी बजेट उपलब्ध नभएपछि स्थानीय टीका कडेलको अगुवाइमा युवाहरू जुटेका हुन्। ज्ञानेन्द्र गिरी र राजेश गिरीलगायत युवाले निजी खर्चमा सडक सरसफाइ गरेका छन्।

सडकको संरक्षणदेखि गाउँको सामाजिक जीवन जोगाउनेसम्मका चुनौतीबीच स्थानीय युवाहरूको यो प्रयासले भने गाउँप्रतिको जिम्मेवारी अझै बाँकी रहेको सङ्केत गर्छ। गाउँ छाड्ने क्रम बढिरहे पनि गाउँमै केही गर्न सकिन्छ भन्ने आशा पूर्ण रूपमा मरेको छैन।

भद्रुटारका केही नवयुवाले गाउँमै तरकारी खेतीप्रति आकर्षण देखाउन थालेका छन्। कृषि उत्पादनलाई आम्दानीको माध्यम बनाउँदै गाउँमै सम्भावना खोज्ने उनीहरूको प्रयासले ग्रामीण जीवनमा आशाको सानो किरण देखाएको छ। पर्याप्त अवसर, बजार र प्रोत्साहन पाएमा गाउँमै बसेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास उनीहरूले जगाउन खोजिरहेका छन्।

तरकारी खेतीप्रति बढ्दो आकर्षण र सडक सरसफाइमा युवाहरूको सक्रियताले गाउँमा सम्भावना अझै बाँकी रहेको देखाए पनि बसाइँसराइ र परम्परागत संस्कृतिको क्षय रोक्न यतिले मात्र पर्याप्त हुने देखिँदैन। गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि उत्पादनको बजार सुनिश्चित गर्ने, सडक तथा अन्य पूर्वाधारको नियमित संरक्षण गर्ने र नयाँ पुस्तालाई गाउँको सामाजिक तथा सांस्कृतिक गतिविधिमा जोड्ने प्रयास आवश्यक देखिन्छ।

दसैँमा पिङ नहल्लिनु केवल एउटा खेल हराउनु मात्र होइन, गाउँमा मानिसहरूको जमघट, आपसी सद्भाव र सामूहिक खुसी घट्दै जानुको सङ्केत पनि हो। झाडीले छोपिँदै गरेका घर, सुनसान आँगन, खाली चौतारा र संरक्षणको पर्खाइमा रहेका सडकले भद्रुटारको बदलिँदो यथार्थ बोलिरहेका छन्।

कुनै समय दसैँको उमङ्गले गुञ्जिने चुहानडाँडा अहिले शान्त छ। रातो टिनले छाएका घर छन्, गाउँ जोड्ने सडक पनि छन्, तर तिनमा जीवन भर्ने मानिसको सङ्ख्या घट्दो छ। गाउँमा दसैँको पुरानो रौनक फर्काउन घरहरू मात्र भएर पुग्दैन; ती घरमा मानिस फर्किनुपर्छ, चौतारामा जमघट हुनुपर्छ र पुस्तौँदेखि चल्दै आएका संस्कार तथा परम्पराले फेरि निरन्तरता पाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्