सडकमै दुध पोखेर चितवनका किसान आन्दोलनमा उत्रिए

चितवन,फागुन ६ । चितवनका दुध किसानहरु सडकमै दुध पोखेर आन्दोलनमा उत्रिएका छन्। उत्पादित दूधले बजार नपाएको र सरकारले विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नदिएको भन्दैं किसानहरुले सडकमै दुध पोखेर विरोध जनाएका हुन्।
चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले चितवनमा रहेका दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको बिरोधमा आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो।आन्दोलित किसानहरुले समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
ज्ञापनपत्रमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरेको खण्डमा आन्दोलन थप सशक्त बनाउने उल्लेख गरिएको छ। दूग्ध विकास संस्थान र निजी डेरीहरुले चितवनबाट दूध लगेर बेचे पनि रकम भने किसानलाई दिएका छैनन् ।
उद्योग तथा डेरीहरुले पहिला प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर अहिले किसानहरुले साउन महिनादेखिको करीब ५२ करोड रुपैयाँ भुक्तानी पाएका छैनन्, भने विगत ५ दिनदेखि दुध पनि बिक्रि भएको छैन।
चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दूधले बजार पाएको छैन। किसानहरु मिल्क होलिडेको चरम संकटमा परेको अध्यक्ष बगालेले बताउनुभएको छ। संघमा चितवनका ११५ भन्दा बढी सहकारी आबद्ध छन्।
चितवनका किसानले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संघीय र प्रदेशका कृषिमन्त्रीहरूलाई दूधको समस्याहरू धेरैपटक राखेपनि हालसम्म समस्याको समाधान पाएका छैनन् ।