‘अफ्रिकन स्वाइन फिभर संक्रमित ठाउँबाट बंगुर ओसारपसारका लागि प्रमाणपत्र जारी नगर्नू’

काठमाडौं,फागुन ७ । नेपाल पशु चिकित्सा परिषद्ले अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएका ठाउँबाट बंगुर तथा बंगुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकलाई अनुरोध गरेको छ ।
अफ्रिकन स्वाइन फिभर रोग दु्रत गतिमा फैलन सक्ने जोखिमलाई न्यूनीकरण गर्न परिषद्ले आइतवार प्रेस विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।
पशु सेवा विभागले गण्डकी र बागमती प्रदेशका केही जिल्लामा उक्त रोगको संक्रमण भेटिको पुष्टि गरेको परिषद्को विज्ञप्तिमा उल्लेख छ । परिषद्ले उक्त रोग नियन्त्रणका लागि सहयोग गर्न सरकारी, निजी तथा गैह्र सरकारी निकायमा कार्यरत दर्तावाल पशु चिकित्सकलाई अनुरोध गरेको छ ।