नुवाकोट विदुरमा ९० जनाको आँखाको शल्यक्रिया



नुवाकोट,फागुन २३ । जिल्लाको विदुर नगरपालिकामा ९० जनाको आँखाको शल्यक्रिया गरिएको छ। विदुरमा विशेषज्ञ आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेर आँखाको समस्या पहिचान गरिएको थियो। 

तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट सामुदायिक आँखा केन्द्र र नुवाकोट रेडक्रसको संयुक्त आयोजनामा सञ्चालित शिविरमा ९० जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो। यसअघि विभिन्न पाँच स्थानमा गरिएको छनौट शिविरमा आठ सय १८ जनाको आँखाको परीक्षण गरिएको आयोजक नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए। 

उनका अनुसार नुवाकोटका पाँच स्थानमा एक सातासम्म सञ्चालन गरिएको मोतियाविन्दु छनौट शिविरबाट आठ सय १८ जना बिरामीको आँखा परीक्षण गरिएको हो।  पहिचान भएकामध्ये विदुरमा आयोजित विशेषज्ञ आँखा उपचार शिविरमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्