‘सिप मेला’को मुख्य विशेषता रोजगार र स्वरोजगारसँग जोड्नु हो: उपप्रमुख डंगोल



काठमाडौं,बैशाख २६ । टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् ।

बुधबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भेटवार्ता गर्दै उनीहरुले सिप मेला कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताए । भेटवार्तामा उपप्रमुख डंगोलले सिपमूलक तालिमका धेरै आयाम भएको बताउँदै यसलाई पूर्ण बनाउन अनेक चरण र तहमा काम गर्नुपर्ने, यी तह र चरणमा साझेदारहरुसँग सहकार्य हुन बताइ्न ।

‘राम्रो काम गर्ने दायित्व सबैको हो । धेरै राम्रा काम मिलाएर उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।’ उनले भनिन्,‘अहिले तालिममा जसले भाग लिनुभएको छ । उहाँहरुलाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङ्मा जोड्ने लक्ष्यसहित काम भइरहेको छ । अहिले प्राप्त गरेको तालिमको स्तरलाई बढाउने काम पनि छ । हामी यस्ता क्षेत्रमा सहकार्य अगाडि बढाउन सक्छौँ ।’

भेटका क्रममा प्रतिनिधिमण्डलले, सिप मेलामा सहभागिता, तालिम व्यवस्थापन, विषय छनोट, यसको श्रम बजारमा सम्बन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनीहरुले भने,‘विद्यालयहरुमा शिक्षासँगै सिप सिकाउँदै जानु उत्कृष्ट कामको थालनी हो । यस क्षेत्रमा सहकार्य गर्न हामी तयार छौँ । उनीहरुको भनाइ थियो ।’

सिप मेलामा सहभागीको आकर्षणका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने,‘१४ हजारभन्दा बढी आवेदकले तालिममा सहभागी हुने इच्छा राखेका छन् । हामी सिप मेलाका अतिरिक्त नियमित तालिमका कार्यक्रममार्फत आवेदकको अपेक्षा पूरा गर्न खोजिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्