भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारणप्रति बोर्डको ध्यानाकर्षण



काठमाडौं,जेठ ७ । पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भइरहेको भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भएकोप्रति विज्ञापन बोर्डले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखेर विक्रीवितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण गरेको अनुगमनको क्रममा पाइएको बोर्डले आइतवार जारी गरेको सूचनामा उल्लेख छ ।

विज्ञापनमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नाम समेत उल्लेख भएको नपाइएको र त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरी समेत प्राप्त भइरहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व ‘बोर्डबाट परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ख र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ५ मा भएकोप्रति बोर्डले ध्यानाकर्षण गराएको छ । ‘विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्ट रूपले उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेकाले उक्त कानूनी व्यवस्था विपरीत प्रसारण भएका त्यस्ता विज्ञापन तत्काल रोकेर यो सूचना प्रकाशन भएको मितिले ३ (तीन) दिन अनुमति लिएर मात्र प्रसारण गर्न गराउन अनुरोध छ,’ सूचनामा भनिएको छ । अनुमतिविना विज्ञापन निरन्तर प्रसारण गरेमा कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत बोर्डले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्