इरानका राष्ट्रपति चढेको हेलिकोप्टर बजारियो, अवस्था अज्ञात



काठमाडौं,जेठ ७। इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टरले आइतवार दिउँसो ‘हार्ड ल्यान्डिङ’ गरेको रिपोर्ट अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । 

उडिरहेको वायुयान चालकको गल्ती, खराब मौसम वा यान्त्रिक गडबढीका कारण तीव्र गतिमा तल झरेर जमीनमा बजारिनुलाई उड्डयनको भाषामा हार्ड ल्यान्डिङ भनिन्छ ।

हेलिकोप्टरमा सवार राष्ट्रपतिलगायतको अवस्था आइतवार राति १० बजे यो विवरण तयार गर्दासम्म अज्ञात छ । राष्ट्रपतिको हेलिकोप्टर हुस्सुका कारण दुर्घटनामा परेको बताइएको छ ।

अरब क्षेत्रको लोकप्रिय सञ्चारमाध्यम अल जजिराले हराएको हेलिकोप्टर खोज्न ४० ओटा उद्धार टोली खटाइएको बताएको छ । दुर्घटना क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी प्रयास जटिल बनेको छ । दुर्घटनाग्रस्त हेलिकोप्टरमा इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानको इस्लामिक न्यायिक संरक्षकका प्रतिनिधि मोहम्मद अली आले–हाशेम तथा ताब्रिजमा शुक्रवारको प्रार्थनाका इमाम रहेको बताइएको छ । 

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार सवारीमा तीन हेलिकोप्टर संलग्न थिए । तीमध्ये दुईओटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनामा परेको पूर्वी अजरबैजानका नागरिक मामिलाका उपसंयोजकले बताएका छन् । दुर्घटना आइतवार अजरबैजानी–इरानी सीमामा रायसीले अजरबैजानी इल्हम अलियेभसँग भेट गरेको केही घण्टापछि भएको हो । इरानी संविधानअनुसार राष्ट्रपतिको निधन भए उक्त जिम्मेवारी उपराष्ट्रपतिले लिन्छन् । 

प्रतिक्रिया दिनुहोस्