वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर,फागुन २४ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । उनको शुक्रवार दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित थिए । २०४१ सालतिर उनी परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सरे ।
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर झिनो मतान्तरले पराजित भए । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भए ।
उनकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । उनका छोराहरू हरिप्रसाद रिजाल, स्व. अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् । वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ । स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उनले पुर्याएको योगदानको स्मरण गरिरहेका छन् ।