दुध बेच्दा ‘गोल्ड मेडल’

काठमाडौ,फागुन २६ । दुध दुहेर डोकोमा हाली बजारसम्म लगेर बिक्री गर्दा गोल्ड मेडल (स्वर्णपदक) पाइन्छ भन्ने उदाहरण बनेका छन् – काभ्रेपलाञ्चोक, मण्डनदेउपुर–९ का जोगलाल तामाङ । मण्डनदेउपुर–९, गहतेबाट ओर्लंदै दैनिक दुध बोकेर तामाङ चौरबेँसी आइपुग्छन । दैनिक न्यूनतम १५ लिटरदेखि अधिकतम ३० लिटर दुध एक वर्षसम्म बेच्ने उनलाई इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट किसानको रूपमा सम्मान गरेको छ ।
उनले एक वर्षमा चार लाख ४६ हजार रुपियाँको दुध बेचे तर दुग्ध विकास संस्थानले नियमित रूपमा किसानलाई दुधको भुक्तानी नगरिदिँदा उनले आफूले बेचेको दुधको पैसा पाउन पनि छ महिना कुर्नु पर्यो । बल्ल उनले छ महिनापछि दुधको भुक्तानी पाए ।
‘ढुटो, दाना खुवाउनै पर्यो, दुध बेचेको पैसा मासिक आउने भए थप ३० लिटर दुध उत्पादन गर्थें होला’ गोल्ड मेडल प्रमाणपत्रसँगै दुध दुहुने बाल्टिन उपहार लिएपछि जोगलालले भने । उनका घरमा दुई वटा भैँसी र एउटा गाई छन् ।
स्कुलमा राम्रो अङ्क ल्याउनेले मेडल पाएको देखे पनि दुध बेचेर पहिलो पटक मेडल पाउँदा अचम्म लागेको उनले भने । टिभीतिर मेडल लगाएपछि खेलाडी रुने गरेको देखेको बताउँदै उनले खुसी मिल्ने भएर पो खेलाडी रुँदा रहेछन् भन्ने बल्ल चाल पाएको सुनाए ।
उनले दैनिक आउन ४० मिनेट र फर्कन ३० मिनेट लगाएर दुध बेच्ने गरेको र छरछिमेकलाई पनि गाईभैँसी पालेर राम्रो आम्दानी गर्न सक्ने उदाहरण देखाएको बताए । उनी मात्रै होइन, उनकै गाउँका राजकुमार तामाङले पनि तीन लाख २३ हजार रुपियाँको दुध बेचेर मेडल जिते।
दुई लाख ९८ हजार रुपियाँको दुध बेच्नुभएकी सुस्मिता तामाङ र यादवप्रसाद नेपाललाई उत्कृष्ट कृषकको रूपमा मेडल, बाल्टिन र प्रमाणपत्र प्रदान गरिएको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल पुष्पराज नेपालले जानकारी दिए । अरू किसानलेभन्दा फरक, हरेक दिन जोगलालले डोकामा दुध बोकेर ल्याउँदा धेरैलाई प्रेरणा मिलेको नेपालले भने ।
आफ्नो ठाउँमा मेहनत गर्दा सफल मात्र होइन, सम्मानित पनि होइन्छ भन्ने सन्देश दिन गोल्ड मेडल प्रदान गरिएको उनले उल्लेख गरे । मण्डनदेउपुरमा उत्पादित भएको दुधको ठुलो मात्रा काठमाडौँ उपत्यकामा खपत हुने गरेको छ । गोरखापत्रबाट