चालु खाता १ खर्ब ६६ अर्ब र शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब बचतमा

काठमाडौं,फागुन २६ । सरकारको चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब १९ करोड रहेको थियो ।
शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ ।