शिक्षा सुधारका लागि नुवाकोटको लिखुमा प्रधानाध्यापकको घुम्ती बैठक



नुवाकोट,चैत ५ । जिल्लाको लिखु गाउँपालिकामा शिक्षा सुधारसँगै गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन गरिएको छ । लिखु गाउँपालिका शिक्षा शाखाले मातहतका  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि घुम्ती बैठक सञ्चालन गरेको हो । 

आउदो शैक्षिकसत्रदेखि प्रत्येक महिना पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक यहाँका फरक फरक विद्यालयमा जनप्रतिनिधिसमेतको उपस्थितिमा घुम्ती बैठक गर्ने तयारी गरिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले बताए । मंगलबार लिखुमा रहेको सिद्धिगणेश आधारभूत विद्यालयमा घुम्ती बैठक सम्पन्न भएको छ । यसअघि विभिन्न विद्यालयमा घुम्ती बैठक सम्पन्न भैसकेको छ । 

एक विद्यालयले गरेका विभिन्न नयाँ अभ्यास तथा सिकाइ अन्य विद्यालयले पनि सिक्ने उद्देश्यसमेत राखेर शिक्षा शाखाले यसप्रकारको नयाँ कार्यक्रमको थालनी गरेको हो । यहाँका विद्यालयमा हुने मासिक परीक्षालाई पालिकास्तरीय बनाइएको छ । बैठकले सबै विद्यालयले शिक्षाको गुणस्तर सुधार्न विशेष जोड दिएको कालिकादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले बताए । यहाँका विद्यालयमा हुने मासिक परीक्षालाई व्यवस्थित गर्न पालिका स्तरीय परीक्षा समितिसमेत गठन गरिएको छ ।

शिक्षा प्रमुख रावतले विद्यालयबिच प्रतिस्पर्धा गराउनुका साथै पठनपाठनमा सबैलाई जागरुक बनाउन लागिएको हुँदा घुम्ती बैठकले विद्यार्थी तथा अभिभावकबाट आउने विभिन्न खालका गुनासाको अन्त्य हुने बताए ।  

प्रतिक्रिया दिनुहोस्