नुवाकोटको साततले दरबारमा सिँढी निर्माण सुरु

नुवाकोट,चैत २७ । नुवाकोटको ऐतिहासिक स्थल साततले दरबार पुग्ने पैदलमार्ग निर्माण सुरु गरिएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले मंगलबार शिलान्यास गरेर निर्माण सुरु गरेका हुन्। उनले बहुवर्षीय कार्यक्रमअन्तर्गत निर्माण सुरु गरिएको यस सिँढीले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुग्नुका साथै धार्मिक पर्यटनमा मद्दत पुग्ने बताए।
पासाङल्हामु सडकमार्गको बीचमा रहेको विदुर नगरपालिका–१ बान्द्रेबाट विदुर नपा–२ स्थित ऐतिहासिक नुवाकोट साततले दरबारसम्म आउजाउ गर्न सुविधाका लागि ढुंगा बिछ्याएर निर्माण कार्य थालिएको हो। सिँढी पदमार्गबाट ऐतिहासिक स्थलको सम्वर्द्धनमा मद्दत पुगेको उपमेयर प्रभा बोगटीले बताइन्।
कुल ३५ लाख रुपैयाँको लागतमा प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको साझेदारीमा चालु आर्थिक वर्षमा निर्माण कार्य सुरु भएको हो।
उक्त सिँढी पदमार्गको रोजगार उपभोक्ता समितिमार्फत काम थालिएको हो। सिँढी निर्माणको लागी चालु आर्थिक वर्षमा ३५ लाखको काम हुने र आगामी वर्ष निरन्तर कार्य थपिँदै जाने विदुर नगरपालिकाले जनाएको छ।