नुवाकोटको पञ्चकन्यामा असिनापानीले बालीमा क्षति, किसान चिन्तित

नुवाकोट, वैशाख २ । नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर ३ झिंगाने गाउँमा आज दिउँसो परेको असिना पानीले स्थानीय किसानको अन्नबालीमा ठुलो क्षति पुर्याएको छ। दिउँसो करीब ४ बजेतिर एक्कासी मौसम परिवर्तन भई असिनासहितको पानी परेपछि मकै, तरकारी बाली तथा किवी फलफूलका बोटहरूमा व्यापक नोक्सानी पुगेको हो।
पञ्चकन्या गाउँपालिकाका रोजगार प्राविधिक सहायक कपिल शाहका अनुसार स्थानीय छिरिङ तामाङको किवी खेतीमा क्षति पुगेको छ । ‘अब असिनाले पूरै बिग्रियो। तरकारी पनि चिथोरिए। किसानलाई ठूलो घाटा भयो।”उनले भने ।
असिनाको आकार ठूलै भएको र झन्डै २० मिनेटसम्म लगातार परेको स्थानीयवासीहरूले बताएका छन्। किसानहरू अहिले खेतको अवस्था हेरेर चिन्तित छन् भने कतिपयले त पूरै बाली गुमेको बताएका छन्।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले घटनाबारे जानकारी पाएको र क्षतिको विवरण संकलन गर्ने बताए । “हामीले प्रारम्भिक जानकारी पाएका छौं। आवश्यक परेमा राहत तथा बीउबिजन उपलब्ध गराउने छौं,” उनले भने ।
यस्तो मौसमी विपत्तिले गर्दा यहाँका किसान वर्षेनी पीडित हुँदै आएका छन्। जलवायु परिवर्तनका असरहरू ग्रामीण कृषि प्रणालीमा स्पष्ट देखिन थालेको भन्दै विज्ञहरूले चेतावनी दिएका छन्।