शिक्षक आन्दोलन रोकिँदैन, भ्रममा नपर्नुहोस् : महासंघ अध्यक्ष सुवेदी

काठमाडौं, वैशाख ३ – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने र शैक्षिक मुद्दा टुंगो लगाउने जनाए पनि शिक्षकको आन्दोलन नरोकिने अध्यक्ष सुवेदीले बताएका हुन् ।
चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै शसक्त रुपमा अगाडि बढ्ने बताउँदै उनले भने, “भ्रममा नपर्नुहोस्, आन्दोलन रोकिँदैन। हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।”
“अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला।” अध्यक्ष सुवेदीले भने-“निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला।”
यसैबीच नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।