आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक चढेको बस दुर्घटना



विराटनगर,वैशाख १३ । शिक्षकहरु चढेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–९ दूधेमा आज शनिबार बिहान दुर्घटना भएको छ। काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक चढेको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाभन्दा बढी शिक्षकहरु रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको सयपत्री यातायातको बस अनियन्त्रित भएर बिहान ५ः३० बजेतिर दुर्घटनामा परेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार १२ जना घाइतेको बिर्तासिटी अस्पताल र ९ जनाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । बस चालक शिवसताक्षी–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परेका शिक्षकहरु झापा, इलाम, पाँचथरलगायत जिल्लाका हुन्। केही शिक्षकहरु साथीहरुसँग पूर्वको भ्रमणमा आएको जनाइएको छ। थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्