सरकार र आन्दोलनरत शिक्षकहरूबिच छलफल सम्पन्न, वार्ता निष्कर्षविहिन



काठमाडौं,वैशाख १३ । सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीचको वार्ता सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न भएको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भएको थियोे।यद्यपि वार्ता भने निष्कर्षविहीन भएको छ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत्र २५ गतेदेखि काठमाडौंमा चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्। शुक्रबार साँझ पनि केही शिक्षक प्रतिनिधि सिंहदरबार पुगेका थिए, तर सरकारको वार्ता टोलीप्रति असहमति जनाउँदै उनीहरू गेटबाटै फर्किएका थिए।

आज बिहान भने शिक्षक महासंघका प्रतिनिधिहरू बिहानैदेखि मन्त्रालयमा उपस्थित भएर वार्तामा बसेका हुन्। शिक्षामन्त्री पन्तले वार्तामार्फत समस्याको समाधान खोज्न शिक्षकहरूलाई लचिलो बन्न आग्रह गर्दै आइरहेका छन्।

वार्तापछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफुहरुले मन्त्रालयमा उपस्थित भएर आफ्नो कुरा राखेको बताएका छन् । उनले अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो र यसबाट नेपाल शिक्षक महसङ्घ टसमस नहुने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्