सजग प्रेसले सदैव सही र सत्य सूचना प्रवाह गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं,वैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डाेहाेर्याउनुपर्ने बताएका छन् ।
नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौँमा आयोजना गरेको १६औँ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– “पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकोमा मलाई खुशी लागेको छ ।”
उनले वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने बताए । उनले भने– “वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको छ । प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन । त्यसैले सजग प्रेसले सदैव सही र सत्य सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ ।”
राष्ट्रपति पौडेलले बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला त्यसबेलाका पत्रकारहरूलाई बोलाएर पत्रिका निकाल्न र सरकारको निरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै लोकतन्त्रसँग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण बिपीले सो आग्रह गरेको बताए ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने भन्दै लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत प्रवाह नगरी काम गरेको उल्लेख गरे । जसरी लोकतन्त्र विना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेस विना लोकतन्त्रको परिकल्पना पनि गर्न नसकिने राष्ट्रपति पौडेलको भनाई थियो ।