शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल

दाङ,वैशाख १४ । सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताएका छन् ।
उनले शिक्षकको आन्दोलनलाई मुठभेडमा लैजान केही तत्त्व लागि परेकोले सम्बन्धित निकायलाई सजगता अपनाउनसमेत आग्रह गरेका छन् । ‘आजको घटना दुःखद भयो’, उनले सामाजिक संजालमार्फत भने, ‘शिक्षकको आन्दोनमा सजगताको खाँचो छ।’
आइतबारको आन्दोलनका घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै महासचिव पोख्रेलले भने,‘शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोशिस गरिरहेको र वार्ता समेत सकारात्मक ढंगले अघि बढेका बेलामा आज भएको मुठभेड नियोजित देखिन्छ।’
शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरुप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उनले बताए । ‘सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुबैको दायित्व हो’, महासचिव पोख्रेलले भने, ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन।’
साथै उनले दुबैपक्ष गम्भीर ढंगले वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न समेत सुझाव दिए ।