सरकारले भिजिलान्ते प्रयोग गरी आन्दोलन भड्कायो, एक दर्जन बढीको अवस्था चिन्ताजनक



काठमाडौं,वैशाख १५ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले भिजिलान्ते प्रयोग गरी ढुंगामुढा गरेर स्थिति भड्काएको आरोप लगाएको छ ।

आइतबार साँझ महासंघद्वारा जारि गरेको विज्ञप्तिमा भनेको छ, ‘यही २०८२ वैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक–कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ।’

बानेश्वरमा भएको प्रहरी हस्तक्षेपबाट ६२ जना शिक्षक–कर्मचारी र केही सञ्चारकर्मी घाइते भएको महासङ्घले  जनाएको छ। घाइतेमध्ये झण्डै एक दर्जनको अवस्था चिन्ताजनक रहेको भन्दै महासङ्घले  सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घटनामा घाइते भएका सबैको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग पनि महासङ्घले राखेको छ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत उन्नयनका पक्षमा २०८१ माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक-कर्मचारी माथि गरिएको अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र फर्दाफास भएको प्रतिक्रिया दिएका छन् । उनले आन्दोलन थप सशक्त हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्