नुवाकोटमा चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता पञ्चकन्याको घ्याङस्वारामा सुरु

नुवाकोट, वैशाख १८ — अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवसको अवसरमा पञ्चकन्या गाउँपालिका, नुवाकोटको आयोजनामा नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ ।
समारोह पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा उद्घाटन भएको हो। कार्यक्रममा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति तथा प्रतिनिधि सभा सदस्य सांसद विमला सुवेदी प्रमुख अतिथिका रुपमा रहेकी थिइन भने नुवाकोट जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीको विशेष आतिथ्यता रहेको थियोे।
कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, कर्मचारी, प्रशिक्षक, खेलाडी तथा गाउँवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको पहिलो दिन, आज भएका खेलहरूमा पञ्चकन्या “ए” ले शिवपुरीलाई पराजित गर्दै विजयी भएको छ। तादीले लिखुलाई हराउँदै अर्को चरणमा स्थान बनाएको छ। यस्तै दुप्चेश्वरले वेलकोटगढीलाई पराजित गरेको छ भने पञ्चकन्या “वि” ले म्यागङलाई हराउँदै प्रतियोगितामा अघि बढेको छ।
आयोजकका अनुसार शुक्रबार बिहान ७:३० बजेबाट नकआउट चरणका खेलहरू सुरु हुने छन्।