पञ्चकन्या चेयरम्यान कप भलिबल प्रतियोगिता दोस्रो दिन सम्पन्न, फाइनलमा पञ्चकन्या र दुप्चेश्वर भिड्ने



नुवाकोट, वैशाख १९ — पञ्चकन्या गाउँपालिकाको आयोजनामा सञ्चालित नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता २०८२ को दोस्रो दिनका खेलहरू आज उत्साहपूर्वक सम्पन्न भएका छन्।

दोस्रो दिन सम्पन्न क्वार्टरफाइनल खेलमा पञ्चकन्या “ए” ले बेलकोटगढीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। यस्तै तादीले म्यागङलाई, दुप्चेश्वरले शिवपुरीलाई, र पञ्चकन्या “वि” ले लिखुलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।

सेमिफाइनल चरणमा, पञ्चकन्या “ए” ले तादीलाई सजिलै पराजित गर्दै फाइनल प्रवेश गरेको छ भने अर्को सेमिफाइनलमा दुप्चेश्वरले पञ्चकन्या “वि” लाई हराउँदै उपाधि भिडन्त तय गरेको छ।

प्रतियोगिताअन्तर्गत भोलि शनिबार फाइनल खेलमा पञ्चकन्या “ए” र दुप्चेश्वर आमने–सामने हुनेछन्। त्यसैगरी तेस्रो स्थानका लागि पञ्चकन्या “वि” र तादी बीच प्रतिस्पर्धा हुनेछ।

यस प्रतियोगिताले स्थानीय तहमा खेलकुदको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् । खेलप्रेमीहरू भोलिको रोमाञ्चक फाइनल खेलको प्रतीक्षामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्