शिवपुरीको काफलडाँडास्थित गोकुलेश्वर महादेव परिसरमा भजनकीर्तन कार्यक्रम



नुवाकोट, वैशाख २० — नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, थानापति, काफलडाँडास्थित गोकुलेश्वर महादेव तथा गोकुलेश्वर झरना परिसरमा शनिबार भव्य भजनकीर्तन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बिहानैदेखि सुरु भई दिनभरि भजन, कीर्तन र धार्मिक मन्त्रोच्चारणसहित श्रद्धालु भक्तजनहरूको उपस्थितिमा भक्तिमय वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय भजनमण्डलसँगै विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भजनकीर्तनसँगै झाँकी विशेष पूजा–अर्चना, सर्वसाधारणका लागि प्रसाद वितरण तथा स्थानीय भजन गायकद्वारा प्रस्तुत भजनले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, गोकुलेश्वर मन्दिर व्यवस्थापन समिति तथा स्थानीय समुदायका अग्रजहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सम्पन्नपछि आयोजक समितिले सहभागी सम्पूर्ण श्रद्धालु भक्तजनप्रति आभार प्रकट गरेको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्