राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता नुवाकोटमा सम्पन्न

नुवाकोट,वैशाख २४ । खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सञ्चालित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको मङ्गलवार समापन भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ नुवाकोटमै पहिलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न भएको हो । प्रतियोगिताका विजेता तथा उप विजेताहरुलाई नगद राशिसहित पुरस्कृत गरिएको छ ।
विजेता खेलाडीहरूलाई संविधान सभा सदस्य जगदीश्वर नरसिंह केसीले नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे । उनले यस प्रकारको राष्ट्रिय प्रतियोगिताले खेलाडीहरूको पहिचान र क्षमता प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यही वैशाख २१ गते वाट नवनिर्मित ब्याडमिन्टन कभर्ड हलमा सञ्चालित प्रतियोगितामा नेपालको विभागीय टोलीसहित तीन सय ५० जना खेलाडीहरूको सहभागिता रहेको नुवाकोट ब्याडमिन्टन सङ्घका अध्यक्ष धनसिंह तामाङले बताए ।
उनका अनुसार विभिन्न नौ इभेण्टमा प्रतियोगिता गराइएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विभिन्न ६ विद्यामा पुरस्कार, सशस्त्रले ६ तथा नेपाल प्रहरीले दुई पुरस्कार जितेको छ ।
पुरुष एकल खुल्लातर्फ सशस्त्रका प्रिन्स दाहाल विजेता, सोही क्लबका क्षितिज खनाल उपविजेता तथा सेनाका लक्ष्मण मगर र सशस्त्रकै देवराज राना तृतीय भए । महिला एकल खुल्लातर्फ सेनाकी रसिला महर्जन प्रथम, सोही टिमकी अमिता गिरी द्वितीय तथा प्रहरीकी निता लम्साल र प्रहरीकी शेष्ना श्रीपालिले तृतीय पुरस्कार जिते ।
पुरुष जोडीतर्फ सशस्त्रका भोजबहादुर गुरुङ र प्रकाशसिंह ठकुरीको जोडी प्रथम, सेनाका नरेन्द्र बम र सुविन श्रेष्ठको जोडी द्वितीय तथा भोजपुरका निश्चल खत्री र विशाल तामाङ तथा सेनाका लक्ष्मण मगर र सरोज महर्जनको जोडीले तृतीय पुरस्कार जिते । भेन्ट्रान्स पुरुषतर्फ प्रेम गुरुङ र सुरेन्द्र कटुवालको जोडी प्रथम, विशाल खड्का र हरि खत्रीको जोडी दोस्रो र सन्जय कपाली र अनील थाम्सुहाङ तथा अर्जुन न्यौपाने र प्रेमकृष्ण राजमण्डारीको जोडी तेस्रो भए ।
मिक्स डवलतर्फ सेनाका सरोज महर्जन र अमीता गिरी प्रथम, प्रहरीका हिरा राई र निता लम्साल दोस्रो र सनम खपाङ्गी र सुष्मा श्रेष्ठ तथा विशाल खड्का र दिलासा रानाले तेस्रो पुरस्कार पाए । प्रतियोगितामा पुरुष अण्डर १५ तर्फ सुनधुलीका इमा तामाङ प्रथम, सेनाका दीप थिङ दोस्रो र सेनाकै सुदेश राजकोटी र धानयान्त्रीका सत्यम कार्की तेस्रो भए ।
महिला अन्डर १५ तर्फ मोहनभुगोल ब्याडमिन्टन क्लबकी निभा राई प्रथम, सशस्त्रकी तिशारानी शाक्य दोस्रो र सशस्त्रकै स्वर्लिन श्रेष्ठ र धादिङकी निष्ठा श्रेष्ठ तेस्रो भए । नुवाकोट खुल्ला पुरुषतर्फ हरि खड्का र अरुण पाण्डे प्रथम, रोशन डङ्गोल र शम्भुप्रसाद पाण्डे दोस्रो तथा जितबहादुर सुनाखरी र सागर थारु एवं अर्जुन न्यौपाने र प्रेमकृष्ण राज भण्डारी तेस्रो भए ।
प्रतियोगितामा पुरुष जोडी, भेट्रान्स पुरुष, जिल्लाभित्रका खुल्ला पुरुष जोडी, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी, छात्रछात्रातर्फको अन्डर १५, पुरुषहरूतर्फको मिक्स डवल इभेन्टमा खेल खेलाइएको प्रतियोगिता आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष जोडीतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तृतीयले २० हजार, भेट्रान्स पुरुषतर्फ विजेताले ४० हजार, उपविजेताले २५ हजार, तृतीयले २० हजार, जिल्लाभित्रका खुल्ला पुरुष जोडीतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडीतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार, तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा छात्र÷छात्रातर्फको अन्डर १५ को दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र पुरुषतर्फको मिक्स डवल इभेन्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार रुपैयाँ नगदका साथ ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेता लाई संविधान सभा सदस्य जगदीश्वर नरसिहं केसी, विदुर नपाका मेयर राजन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले पुरस्कार प्रदान गरे ।