नुवाकोट शिवपुरीका स्वास्थ्यकर्मी र स्वयंसेविकालाई तालिम



नुवाकोट — वैशाख २४ । जिल्लाको शिवपुरी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकालाई बुधबार आधारभूत जीवन समर्थन (Basic Life Support – BLS) सम्बन्धी तालिम सञ्चालन गरिएको छ। कार्यक्रम शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिम मनमोहन कार्डियोथोरासिक भास्कुलर नर्सेज समाज नेपालले आयोजना गरेको हो, जसमा शिवपुरी गाउँपालिकाको समन्वय रहेको थियो। प्रशिक्षण मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, काठमाडौंका विज्ञ प्रशिक्षकहरूले प्रदान गरेका थिए।

जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीहरूको जीवनरक्षा गर्न आवश्यक सीप प्रदान गर्ने उद्देश्यले गरिएको यस तालिमले सहभागीहरूमा उच्च उत्साह र सन्तोष व्यक्त भएको स्वास्थ्य प्रमुख नारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार, स्वास्थ्य क्षेत्रमा नयाँ सेवा तथा सुविधा विस्तार गर्ने लक्ष्यसहित शिवपुरी गाउँपालिकाले अध्यक्षको विशेष पहलमा यस्तो महत्वपूर्ण तालिम आयोजना गरेको हो।

सहभागी स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले यस्ता व्यावहारिक तालिमहरूले उनीहरूको क्षमता अभिवृद्धि गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्