लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नुवाकोट, वैशाख २६ — लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक ध्रुव श्रेष्ठको अध्यक्षतामा विभिन्न शिक्षा सम्बन्धी सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख शेरसिंह रावत, सामाजिक विकास समिति संयोजक नरहरि पाण्डे, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षहरू, प्रधानाध्यापकहरू तथा शिक्षक संघ तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो।
गोष्ठीमा आगामी शैक्षिक वर्षका लागि लिखु गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूको समग्र विकास तथा सुधारका उपायहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय आवश्यकता तथा सम्भावनालाई ध्यानमा राखी व्यावहारिक तथा प्रभावकारी कार्ययोजना निर्माण गर्न सुझाव प्रस्तुत गरेका थिए।
गोष्ठीको निष्कर्षका आधारमा तयार पारिने कार्ययोजना आगामी दिनमा गाउँपालिकाको शैक्षिक नीतिहरू कार्यान्वयनमा महत्वपूर्ण मार्गदर्शन बन्ने अपेक्षा गरिएको छ।