विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्छ: प्रधानमन्त्री ओली



लुम्बिनी,वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका छन्  ।

लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसालाई हतियारले नभै बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका हुन् ।

उनले भने ‘विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता अझै बढेको छ । उनले भने ‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्ध भूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ। ’

प्रधानमन्त्री ओलीले बुद्ध शिक्षा र विचार, शान्ति करुणा र मैत्री भावलाई जीवित राख्न ठुलो सङ्घर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न आग्रह गर्दै उनले लुम्बिनी पवित्र भूमि मात्रै नभई बुद्ध दर्शनको उत्पत्तिको थलो भएको बताए ।

प्रधानमन्त्री ओली पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लुम्बिनी पुग्नु हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्