चालिस बर्ष पछि रसुवाको मुलखर्कमा सडक ढलान गर्ने कार्य सुरु



रसुवा,वैशाख ३१ । २०४२ सालमा निर्माण गरिएको पसाङ्ल्यामु मार्ग अन्तर्गत रसुवाको मुलखर्क सडक चालिस बर्षपछि पक्की बन्न लागेको छ । सडक डिभिजन कार्यालय नुवाकोटले मुलखर्क क्षेत्रमा सडक ढलानको कामलाई अघि बढाएसँगै मुलखर्क सडक चालिस बर्ष पछि पक्की बन्न लागेको हो ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडकको मुलखर्कको यो भाग चालिस बर्ष यता भौगोलिक अबस्था देखाउदै कालोपत्रेसम्म पनि हुन सकेको थिएन । जसका कारण सवारी साधन आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो ।

अत्यधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडक भन्दा ढलान सडक बढी टिकाउ बन्दै गएपछि पासाङ्ल्यामु मार्गको मुलखर्कमा सडक ढलानको काम गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

सडक साँघुरो र खाल्डाखुल्टी त्यसमाथि पनि भासिने, पहिरो जाने समस्याले बर्षेनी बर्षातका समयमा सवारी सञ्चालनमा कठिनाइ भएका स्थानमा सडक ढलानको कार्यलाई तीव्रता दिँदै गएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख सुबोधकुमार देबकोटाले बताए ।

अघिल्लो बर्ष गरिएको सडक ढलान टिकाउ भएसँगै मुलखर्कमा यस बर्ष भ्याटसहित तीन करोड चार लाख बहत्तर हजार रुपैयाँको लागतमा आठ सय पचास मिटर थप सडक ढलानको काम गरिएको हो ।

चार दशक अघिदेखि मूलखर्क तथा राम्चेका विभिन्न स्थानमा सडकको अवरोध भोग्दै आएका यातायात सञ्चालक तथा रसुवाका उत्तरी क्षेत्रका बासिन्दामा यस खालको कामले स्थानीय विकास र यातायातमा सुधार संगै दिगोपन ल्याउने बिश्वास उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्