नुवाकोट विदुरका महिलालाई सिपमूलक तालिम
नुवाकोट,साउन ५ । सिपको प्रवर्द्धन गरी स्वरोजगारमा क्रियाशील हुन जोड दिँदै नुवाकोटको विदुरमा विभिन्न सिपमूलक तालिम सम्पन्न भएको छ । एकै पटक विभिन्न ६ वटा तालिमका सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
विदुर नगरपालिका, नुवाकोट उद्योग वाणिज्य सङ्घ, इलम प्रशिक्षण केन्द्र तथा बागमती प्रदेशको सहयोगमा सञ्चालित तालिमहरू एकै पटक समापन भएको हो । बागमती प्रदेशको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् हेटौँडामार्फत नुवाकोटमा सञ्चालित विविध सीपमूलक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा ३ महिने आधारभूत कम्प्युटर तालिम पूरा गरेका एक सय २६ जना, मन्टेश्वरी, ब्युटिसियन, सिलाई कटाई, फेशन डिजाइन, इलेक्ट्रिसियन विषयमा २०÷२० जनाको सहभागिता रहेको थियो । एकै पटक ती प्रशिक्षार्थीलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको छ ।
सहभागीहरूलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । उनले सिपलाई सदुपयोग गरी आत्मनिर्भर भई स्वरोजगार हुन यस प्रकारको तालिम महत्त्वपूर्ण रहेको बताए । उनले सिप पाएपछि त्यसलाई प्रवर्द्धन गर्नु प्रशिक्षार्थीको दायित्वसमेत भएको बताए ।
कार्यक्रममा तादी गापाका अध्यक्ष सन्तमान तामाङ, विदुर नपाकी उपमेयर प्रभा बोगटी, वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल, बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामालगायतले सिपको विकास र प्रवर्द्धनमा जोड दिए । कार्यक्रममा म्यागङ गापा उपाध्यक्ष सीता वाइबा, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठसहित पदाधिकारीहरू, विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, ११ का वडाध्यक्ष बाबुराम तामाङ, तालिम सञ्चालन गर्ने साझेदारी संस्था, प्रशिक्षक, प्रशिक्षार्थीहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
उनीहरूले तालिममा प्राप्त गरेको सिपलाई सही रूपमा उपयोग गर्न सुझाव दिएका थिए । पछिल्लो समय स्थानीय तहले महिलाहरूका लागि यस्ता स्वरोजगार मूलक तालिमहरू सञ्चालन गर्दै आएका छन् ।
विदुर नपा र इलम प्रशिक्षण केन्द्रको साझेदारीमा सञ्चालित आधारभूत कम्प्युटर तालिम र नुवाकोट उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा बागमती प्रदेशको ’प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्’ हेटौँडा मार्फत नुवाकोटमा सञ्चालित ’विविध सीपमूलक तालिम’को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एकै पटक गरिएको हो । हालसम्म विदुरमा मात्रै ३ हजार भन्दा बढी महिलाहरूले विभिन्न तहका तालिमहरू प्राप्त गरिसकेको विदुर नगरपालिकाको रोजगार शाखाले जनाएको छ ।
बेलकोटगढी नपामा पनि महिलाहरूलाई स्वरोजगार मूलक तालिम प्रदान गर्दै आएको उपमेयर शिवप्रसाद दाहालले जानकारी दिए । विदुरस्थित इलम प्रशिक्षण केन्द्रले हालसम्म २० हजार जनालाई विभिन्न सिपमूलक तालिम प्रदान गरिसकेको छ ।

