आज लुम्बिनी र विराटनगर भिड्दै, चितवन प्लेअफ प्रवेशको प्रतीक्षामा



काठमाडौं,कात्तिक २८। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलले प्लेअफ समीकरणलाई थप स्पष्ट पार्नेछ।

लुम्बिनी एक खेलअघि नै प्लेअफमा पुगिसकेको छ भने विराटनगरलाई प्लेअफमा स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने दबाब छ। लुम्बिनी भने विराटनगरलाई पराजित गर्दै पहिलो क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ।

शुक्रबार भएको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको थियो। ८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर जित निकालेको थियो।

चितवनका डेविड मालनले अविजित ३५ रन बनाए। कुशल मल्लले १५ रनको योगदान दिए। उनीहरूबीच छैटौं विकेटका लागि भएको ३२ रनको साझेदारी चितवनको जितमा निर्णायक बन्यो। मालन खेलको उत्कृष्ट खेलाडी घोषित भए।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र बनाएको थियो। उसका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका रञ्जित कुमारले तीन तथा सिकन्दर राजा र कामिल मिसराले समान दुई विकेट लिए।

जितसँगै चितवनले ६ खेलबाट ७ अंक जोडेको छ। जनकपुर भने ७ खेलबाट ४ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ। जनकपुरको हारसँगै कर्णाली याक्सको प्लेअफ सम्भावना पनि समाप्त भएको छ।

आजको खेलमा विराटनगर पराजित भए चितवन एक खेलअघि नै प्लेअफमा पुग्नेछ। विराटनगर विजयी भए चितवनले आफ्नो अन्तिम खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्