बारपाकमा ज्यान गुमाउने ४९० जनाको नाम भुकम्प स्मृति उद्यानमा अंकित



गोरखा,साउन ६ । २०७२ सालमा गएको गोरखा भुकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकस्थित भुकम्प स्मृति उद्यानमा भुकम्पमा परी ज्यान गुमाएकाहरुको नामावली राखिएको छ ।

बि.स २०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको संघीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिए ।

स्मृति उद्यानमा भुकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिएपनि गृहमन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखाका मृतकहरुको मात्र नामावली राखिएको उनले बताए ।

इन्जिनियर पंगेनीले भने, ‘‘गृहमन्त्रालयमा धेरै पटक पत्राचार भयो । गोरखावाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाटै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आइसकेको छ । अब अन्य जिल्लाका मृतकका नामावली स्मृति उद्यान नराख्ने निश्चित भएको छ ।’’

गोरखा भुकम्पमा परेर ज्यान गुमाएका सबैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको सम्पन्नतामा ढिलाइ हुँदै आएको थियो । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरि उद्यान निर्माणको काम अगाडी बढाइएको थियो ।

सरकारी स्वामित्वको करिब २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ । त्यस्तै स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनीस्वच्छन्द-होम निर्माण जेभीका भोला मरहठ्ठाले जानकारी दिए ।

उद्यानमा २ शौचालय, १ चमेनागृह, पार्किङस्थल लगायत पार्क, टिकट काउन्टरसमेत निर्माण गरिएको छ । आयोजना कार्यान्वयन इकाइले १३ करोड ६ लाख ३४ हजार रुपैयाँ स्मृति उद्यान निर्माणका लागि ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्