रसुवामा २७ थान काठसहित बोलेरो गाडी बरामद



रसुवा,कात्तिक २८ । रसुवाको कालिका गाउँपालिका–१ मुलखर्कस्थित पासाङल्हामु राजमार्ग सडकखण्डबाट प्रहरीले २७ थान काठका मुडासहित बोलेरो गाडी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहीबार राति करिब ९ बजे मुलखर्कस्थित सडक किनारमा रोकिराखेको बा ७ च ३१२५ नम्बरको बोलेरो गाडीको पछाडिको ढालामा लुकाइछिपाइ ओसारपसार गर्न लागिएको अवस्थामा काठ फेला परेको हो ।

प्रहरीको मोबाइल गस्ती टोलीले गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेको गाडी जाँच गर्दा २७ थान काठका मुडा फेला पारेको जनाएको छ ।

बरामद गरिएको काठ र बोलेरो गाडीलाई शुक्रबार थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे, रसुवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्