विश्व शान्ति अभियानमा नेपाली ‘ब्लु हेल्मेट’को चम्किलो पहिचान
काठमाडौँ,फागुन १ । विश्व शान्ति स्थापनाको अभियानमा नेपाली शान्ति सैनिकले साहस, अनुशासन र व्यावसायिकताको उदाहरण प्रस्तुत गर्दै अन्तरराष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाएका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाएर संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा सहभागिता सुरु गरेको नेपाली सेना आज विश्व मञ्चको भरपर्दो सहयात्रीका रूपमा स्थापित भएको छ।
सिरियास्थित युएन शान्ति मिसनका पूर्व फोर्स कमाण्डर ईश्वर हमालका अनुसार नेपाली शान्ति सैनिक जोखिमपूर्ण जिम्मेवारी सहजै स्वीकार गर्ने, आदेशपालक र व्यावसायिक ‘च्याम्पियन’का रूपमा परिचित छन्। उहाँले अनुभवी, अनुशासित, तटस्थ र भरपर्दा सैनिकका रूपमा नेपाली शान्ति सैनिकको अन्तरराष्ट्रिय जगत्मा उच्च मूल्याङ्कन हुने गरेको बताउनुभयो।
नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो। सन् १९६९–७० र १९८८–८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिका निर्वाह गरेको नेपालले परराष्ट्र नीतिमा राष्ट्रसङ्घीय बडापत्रका सिद्धान्तलाई प्राथमिकता दिँदै आएको छ। द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक पठाउँदा युएनको झण्डामुनि मात्र जाने नीति नेपालले अवलम्बन गरेको छ।
सन् १९७४ मा पुरानो गोरख गण इजिप्टमा पहिलोपटक तैनाथ भएयता नेपालले ४४ वटा मिसनमा सहभागिता जनाएको छ। हालसम्म एक लाख ६२ हजार ४९६ नेपाली ‘ब्लु हेल्मेट’ले योगदान गरिसकेका छन् र सोही सङ्ख्यामा राष्ट्रसङ्घीय शान्ति पदक प्राप्त गरेका छन्। तीन हजार ६६६ भन्दा बढी नेपाली महिला सैनिकले पनि शान्ति अभियानमा योगदान दिएका छन्।
हाल विश्वका १० वटा मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। एक समय सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथीसँगै नेपाल सबैभन्दा बढी शान्ति सैनिक पठाउने मुलुकको पहिलो स्थानमा पुगेको थियो, जहाँ नेपाली सैनिकको सङ्ख्या छ हजार १६ पुगेको थियो।
विश्व शान्ति स्थापनाका क्रममा ७४ नेपाली शान्ति सैनिकले ज्यान गुमाएका छन् भने ७७ जना गम्भीर घाइते भएका छन्। राष्ट्रसङ्घले विश्व शान्ति कार्यका लागि नोबेल पुरस्कार प्राप्त गर्नुमा नेपाली शान्ति सैनिकको पनि महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिन्छ। साइप्रस मिसनमा फोर्स कमान्डर रहनुभएका रथी भिक्ट्रीशम्शेर जबराका अनुसार बहुराष्ट्रिय फौजको नेतृत्व गर्नु देश र सङ्गठनका लागि ठूलो अवसर हो। यसअघि विभिन्न मिसनमा नेपाली उच्च अधिकृतहरूले फोर्स कमान्डरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् भने हाल दक्षिण सुडानमा बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ कार्यरत छन्।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सेलेन्स’का रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वाधार स्तरोन्नति भइरहेको छ। त्यहाँ शान्ति सेनासम्बन्धी विशिष्ट तालिम सञ्चालन हुँदै आएको छ। एक वर्षमा विदेशी ३१ र स्वदेशी ६४ जनाको सहभागितासहित चारवटा विशिष्ट तालिम सञ्चालन गरिनुका साथै तीन हजार ५३१ जनालाई ‘प्रिडिप्लोयमेन्ट’ तालिम दिइएको छ।
शान्ति मिसनमार्फत नेपालले अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार, विदेशी मुद्रा आर्जन तथा आफ्नो मूल्य–मान्यता, संस्कृति र जीवनशैली विश्वसामु चिनाउने अवसर पाएको छ। दूतावास नभएका स्थानमा समेत शान्ति सैनिकको उपस्थितिले परोक्ष रूपमा सम्बन्ध विस्तारमा सहयोग पुगिरहेको छ।
बेलायतको वेल्सस्थित क्याम्ब्रियन गस्ती अभ्यास र पाकिस्तानमा आयोजित अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली सेना तीनपटक स्वर्ण पदक विजेता बनेको छ। कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३७ राष्ट्रका १२१ टोली र १७ राष्ट्रका ३८ टोलीलाई पछि पार्नु नेपाली सेनाको व्यावसायिकता र गोर्खाली वीरताको प्रमाणका रूपमा लिइएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रमा खटिएका नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घ र नेपालको मान–प्रतिष्ठा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरिरहेका छन्। २६३औँ वार्षिकोत्सव मनाइरहँदा नेपाली सेना विश्व समुदायमाझ अनुशासित, विश्वसनीय र भरपर्दो शान्ति सैनिकका रूपमा स्थापित भएको छ।

