नुवाकोटमा दुप्चेश्वर कप सुरु, उद्घाटन खेलमै घरेलु टोली विजयी
नुवाकोट,वैशाख २ । नुवाकोटमा सातौं दुप्चेश्वर कप राष्ट्रव्यापी अन्तरस्थानीय तह तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८३ को उद्घाटन समारोह सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटनसँगै पहिलो खेल पनि सम्पन्न भएको छ। उद्घाटन खेलमा घरेलु टोली दुप्चेश्वर गाउँपालिका, नुवाकोटले दोलखाको मेलुङ गाउँपालिकालाई २–१ सेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ।
प्रतियोगितामा देशभरका विभिन्न स्थानीय तहका टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। खेलप्रेमीहरूको उत्साहजनक उपस्थितिबीच सम्पन्न उद्घाटन समारोहले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ।
प्रतियोगिताअन्तर्गतका बाँकी खेलहरू भोलि बिहान ८ बजेदेखि सञ्चालन हुनेछन्।

