नागरिक एपमा राष्ट्रिय पञ्जीकरण सूचना एकीकरण हुँदै, सेवा अझै सहज हुने



काठमाडौं,बैशाख २ । सरकारले राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ।जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्तालगायतका सूचनालाई एउटै डिजिटल प्रणालीमा आबद्ध गर्ने तयारी भइरहेको सूचना प्रविधि विभागले जनाएको छ।

विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार हाल प्रारम्भिक चरणको काम सुरु भइसकेको छ र केही समयभित्रै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। तथ्याङ्क एकीकृत भएपछि नागरिकहरूले जन्म, विवाहलगायतका प्रमाणपत्रहरू नागरिक एपमार्फत नै प्राप्त गर्न सक्नेछन्।

सरकारले डिजिटल सुशासनलाई मजबुत बनाउने लक्ष्यसहित सार्वजनिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्र बनाएको छ। यसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीका प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ समेत नागरिक एपबाट उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको जनाइएको छ।

त्यसैगरी, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा इन्जिनियरिङ पेशासम्बन्धी प्रमाणपत्र पनि एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ४५ दिनभित्र थप सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेकोमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सो काम अझ छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्को चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ मा पनि नागरिक एपमार्फत सेवा विस्तार गर्ने योजना समावेश गरिएको छ। हाल नागरिक एपबाट प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सेवा सञ्चालनमा आइसकेको छ।

सरकारले नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने लक्ष्य लिएको छ। यस पहलले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्