पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, निगम अझै घाटामा



काठमाडौं,बैशाख ३ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनको आन्तरिकतर्फ मूल्य बढाएको जनाएको हो।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ। समायोजित मूल्यअनुसार अब डिजल र मट्टीतेलको प्रतिलिटर मूल्य २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धन प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र इण्डियन आयल कर्पोरेसनबाट (Indian Oil Corporation) प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा पनि निगम अझै घाटामा रहेको छ। लागत मूल्य उच्च र बिक्री मूल्य कम भएकाले हाल पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार हाल पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नु परेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्