“रसुवाको गतलाङमा चौँरी महोत्सव: हिमाली संस्कृति जोगाउँदै किसानको आय बढाउने अभियान”
रुसुवा, वैशाख ३ । हिमाली जीवनशैली, परम्परागत पशुपालन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले रुसुवाको गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा ‘चौँरी महोत्सव’ आयोजना हुने भएको छ।
चौँरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने तथा चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत सामग्रीको बजारीकरण व्यवस्थित गर्ने लक्ष्यसहित वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना गर्न लागिएको हो।
चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवले किसानलाई थप हौसला मिल्ने अपेक्षा गरेका छौँ,” उनले बताए।
गतलाङ क्षेत्रमा मात्र करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी रहेको बताइएको छ। महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिनुका साथै परम्परागत विश्वासअनुसार चौँरीको रगत सेवनसम्बन्धी व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ।
यस क्षेत्रका किसानले चौँरीसँगै भेडाबाख्रापालन पनि गर्दै आएका छन्। भेडाको ऊनबाट राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री उत्पादन गरी घरेलुस्तरमै आयआर्जन गर्दै आएका छन्। महोत्सवमा यस्ता उत्पादनको प्रदर्शनी तथा बजार विस्तारमा विशेष जोड दिइनेछ।
स्थानीय किसान मार लामा अनुसार यहाँका बासिन्दाको मुख्य आम्दानी चौँरीजन्य परिकार, ऊनजन्य सामग्री, लेकाली आलु, बन्दाकोपी, सिमी लगायत कृषि उत्पादनबाट हुने गरेको छ। पछिल्ला वर्षमा किसानहरू बढी आम्दानी दिने बन्दाकोपी खेतीतर्फ आकर्षित हुँदै गएका छन्।
तामाङ सम्पदामार्गमा पर्ने गतलाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ। स्थानीयस्तरमा सञ्चालन भएका होमस्टे सेवाले आम्दानी वृद्धि गर्न सहयोग पुर्याएको छ। यहाँ आउने पाहुनालाई सिस्नोको तरकारी, सिमीको दाल, मकै, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुजस्ता परम्परागत खानाले आकर्षित गर्ने गरिएको छ।
समुद्र सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा रहेको पार्वतीकुण्ड धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ। हिमालयकी पुत्री पार्वतीको वासस्थलका रूपमा विश्वास गरिने यस क्षेत्रमा हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्, जसबाट स्थानीयले सेवा प्रदानमार्फत अतिरिक्त आम्दानी गर्दै आएका छन्।
डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार २०६५ सालको डढेलोबाट नष्ट भएको वन क्षेत्र पुनःस्थापनाका लागि वृक्षरोपण अभियान सञ्चालन भइरहेको छ। ‘ड्रोन’ प्रविधिबाट वनस्पतिका बीउ छर्ने तयारीसमेत गरिएको उनले जानकारी दिए।
करिब ६०० घरपरिवार बसोबास रहेको गतलाङ क्षेत्र परम्परागत पशुपालन, कृषि उत्पादन र ग्रामीण पर्यटनको संयोजनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गएको स्थानीय अगुवाहरू बताउँछन्। याक तथा चौँरी महोत्सवले हिमाली संस्कृति संरक्षणसँगै किसानलाई प्रत्यक्ष प्रोत्साहन दिने विश्वास समाजसेवी मिलन तामाङले व्यक्त गरेका छन्।

