कोइला अभावले हेटौँडा सिमेन्ट उद्योग फेरि ठप्प
हेटौँडा, वैशाख ४ । कोइलाको अभावका कारण हेटौँडा सिमेन्ट उद्योगले बिहीबार बिहानदेखि पुनः उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालनमा ल्याइएको उद्योग फेरि रोकिँदा उत्पादन प्रक्रिया प्रभावित बनेको हो ।
उद्योगले तीन हजार मेट्रिक टन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ । सहायक प्रबन्धक विकास श्रेष्ठका अनुसार करिब दुई साताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ । कोइलाको गुणस्तर परीक्षणपछि मात्रै उत्पादन पुनः सुरु गर्ने समय तय गरिने उनले जानकारी दिए ।
यसअघि आर्थिक सङ्कटका कारण समस्यामा परेको सरकारी स्वामित्वको उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाले दबाब दिँदै आएका छन् । सङ्घीय सांसद प्रकाश गौतमले उद्योगको समस्या समाधानका लागि केन्द्र र बागमती प्रदेश सरकारसँग पहल सुरु गरिसकेको बताएका छन् । उनले प्रधानमन्त्री, उद्योगमन्त्री तथा प्रदेश मुख्यमन्त्रीसँग उद्योगको अवस्थाबारे छलफल गरिसकेको उल्लेख गरे ।
गत भदौमा पाँच दिन मात्र सञ्चालन भएको उद्योगले दुई हजार पाँच सय टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।निमित्त महाप्रबन्धक डा. शिवनारायण साहका अनुसार गत चैत १३ गतेदेखि पुनः क्लिङ्कर उत्पादन सुरु भए पनि कच्चा पदार्थ अभावले उद्योग फेरि बन्द हुन पुगेको हो ।
उद्योगले पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आपूर्ति प्रभावित हुँदै आएको छ । उत्पादन बन्द भए पनि कर्मचारी तलब, भत्ता तथा मर्मत खर्चजस्ता अनिवार्य दायित्वले आर्थिक भार थपिएको छ । हाल उद्योगमा ३१८ जना कर्मचारी कार्यरत छन् ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने करिब ३० देखि ४० करोड रुपैयाँ महसुल बक्यौता रहेको छ । बक्यौताकै कारण निर्बाध विद्युत् आपूर्तिका लागि आग्रह गर्नसमेत कठिन भएको उद्योग प्रशासनले जनाएको छ ।

