आयात १३% ले बढ्दा व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो



काठमाडौं,बैशाख ८ । चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेको देखिएको छ।

यस अवधिमा गत वर्षको सोही अवधिको तुलनामा आयात १३ प्रतिशतले वृद्धि भएको छ भने निर्यात पनि १८ प्रतिशतले बढेको छ। तर आयातको तुलनामा निर्यात कम रहँदा व्यापार घाटा भने उल्लेखनीय रूपमा बढेको छ। चैतसम्मको तथ्यांकअनुसार व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो।

यस अवधिमा कुल १४ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात भने २ खर्ब २२ अर्ब रुपैयाँमा सीमित रहेको छ। गत वर्ष यही अवधिमा १३ खर्ब ९ अर्ब रुपैयाँको आयात र १ खर्ब ८८ अर्ब रुपैयाँको निर्यात भएको थियो।

पछिल्लो ९ महिनाको अवधिमा डिजेल सबैभन्दा बढी आयात भएको वस्तुका रूपमा देखिएको छ, जसको आयात मूल्य १ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै सोयाबिन तेल ७६ अर्ब, पेट्रोल ५० अर्ब र ग्यास ४१ अर्ब रुपैयाँ बराबर आयात भएको छ।

यसका साथै फलामजन्य वस्तु, स्मार्टफोन, डाइमोनियम हाइड्रोजन फस्फेट (डीएपी), सुन तथा फर्टिलाइजर ग्रेडका सामग्रीहरूको आयात पनि उच्च रहेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्