मल आपूर्ति सहजीकरण गर्न मन्त्रालयको पहल, सम्बन्धित निकायलाई पत्राचार
काठमाडौं,बैशाख १०। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न विभिन्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहनेछ। तर, पश्चिम एशियामा जारी संकटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुन सक्ने देखिएकाले समयमै व्यवस्थापनका लागि पहल गरिएको हो।
गीता चौधरी नेतृत्वको मन्त्रालयले कृषि विभाग, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सातै प्रदेशका कृषि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आगामी धान खेती सिजनका लागि मलको बिक्री–वितरण प्रभावकारी बनाउन आग्रह गरेको छ।
मन्त्रालयले सम्भावित अभावलाई ध्यानमा राख्दै समयमै समन्वय र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यसहित सबै निकायलाई सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

