बेलायतमा धूम्रपानविरुद्ध ऐतिहासिक कदम: नयाँ पुस्तालाई चुरोट खरिदमा आजीवन प्रतिबन्ध



एजेन्सी,बैशाख ११ । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ। स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको यस कदमले अबको पुस्तालाई क्रमशः चुरोटको पहुँचबाट टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ।

संसद्बाट पारित उक्त कानूनअनुसार डिसेम्बर ३१, २००८ पछि जन्मिएका व्यक्तिहरूलाई जीवनभर चुरोट किन्न नपाउने व्यवस्था गरिनेछ। यसले हालको उमेर–आधारित सीमा हटाउँदै हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने प्रणाली लागू गर्नेछ, जसका कारण अहिलेका किशोर–किशोरीहरू भविष्यमा पनि चुरोट खरिद गर्नबाट वञ्चित रहनेछन्।

धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो उपलब्धि हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था “एक्सन अन स्मोकिङ एन्ड हेल्थ” का प्रमुख कार्यकारी हेजल चिजम्यानले धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य नभई अपरिहार्य प्रक्रिया बनिसकेको प्रतिक्रिया दिनुभएको छ। उहाँले यस कदमलाई सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि निर्णायक उपलब्धि ठान्नुभएको छ।

कानून कार्यान्वयनअघि बेलायती राजा चाल्र्स तृतीयको औपचारिक स्वीकृति आवश्यक रहनेछ, जुन सामान्यतया औपचारिक प्रक्रिया मात्र मानिन्छ। त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा थप कडा नियमन लागू गर्नेछ।

हाल बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट, सुर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ। तर नयाँ कानूनले यस व्यवस्थालाई अझ कडा बनाउँदै दीर्घकालीन रूपमा धूम्रपान अन्त्यतर्फ उन्मुख गरेको छ। यससँगै बेलायत विश्वकै कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक बनेको छ।

यसअघि सन् २०२२ मा न्यूजिल्यान्डले पनि यस्तै प्रकृतिको कानून ल्याएको भए पनि पछिल्लो सरकारले त्यसलाई खारेज गरेको थियो। बेलायतको कदम भने दीर्घकालीन नीतिगत प्रतिबद्धताको रूपमा प्रस्तुत गरिएको छ।

सरकारी तथ्याङ्कअनुसार सन् १९७० को दशकयता बेलायतमा धूम्रपान गर्नेहरूको संख्या करिब दुई तिहाइले घटिसकेको छ। तर अझै करिब ६४ लाख मानिस, अर्थात् कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशतले धूम्रपान गरिरहेका छन्। हरेक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानका कारण हुने तथ्याङ्कले देखाएको छ, जसले यसलाई मृत्यु, अशक्तता र खराब स्वास्थ्यको सबैभन्दा ठूलो रोकथामयोग्य कारण बनाएको छ।

स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले नयाँ कानूनले बेलायतका बालबालिकालाई “पहिलो धूम्रपान–मुक्त पुस्ता” बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यस कदमले भावी पुस्तालाई जीवनभरको लत र त्यसबाट हुने गम्भीर स्वास्थ्य जोखिमबाट जोगाउनेछ।

प्रतिक्रिया दिनुहोस्