एनटिसीको नयाँ निर्णय: अब २८ दिन होइन, सबै प्याकेज ३० दिन!
काठमाडौं,बैशाख १५— नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गत उपलब्ध २८ दिने सबै प्याकेजको समयावधि बढाएर ३० दिन कायम गरेको छ।
एनटिसीले ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट ३० दिनमा विस्तार गरिसकेको थियो। त्यसैको निरन्तरतास्वरूप अब वैशाख ११ गतेदेखि अन्य सबै २८ दिने प्याकेजहरू पनि केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धर ले जानकारी दिनुभयो।
यस परिवर्तनसँगै अब ग्राहकले महिनामा एकपटक मात्र रिचार्ज गरे पुग्नेछ, जसले सेवा प्रयोगलाई अझ सहज बनाउने विश्वास गरिएको छ। उही मूल्यमा दुई दिन थप सेवा पाइने भएकाले डेटा, भ्वाइस र एसएमएस प्रयोगमा ग्राहकले अतिरिक्त लाभ लिन सक्नेछन्।
एनटिसीका अनुसार यस कदमले उपभोक्ताको खर्च व्यवस्थापनलाई सहज बनाउनुका साथै सेवा सन्तुष्टि पनि बढाउने अपेक्षा गरिएको छ।कम्पनीले यसलाई उपभोक्तामैत्री सुधारको रूपमा लिएको छ भने टेलिकम क्षेत्रमा प्रतिस्पर्धालाई थप सक्रिय बनाउने विश्वास गरिएको छ।

