नागरिक लगानी कोषको लगानी क्षेत्र विस्तार र संस्थागत क्षमता बढाउन अर्थमन्त्रीको जोड
काठमाडौँ, मङ्सिर ९। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको संस्थागत क्षमता अभिवृद्धि गर्दै लगानीका क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले कोषको संस्थागत संरचनामा सुधार, लेखा प्रणालीको आधुनिकीकरण र वित्तीय पहुँच विस्तार गर्न विधेयकले सहयोग पुर्याउने बताउनुभयो।
अर्थमन्त्री वाग्लेले मध्यम वर्गको आर्थिक पहुँच बढाउनुका साथै शिक्षा, आवास र पूर्वाधार विकासमा कोषको भूमिका विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो। विधेयकले उत्पादनमूलक उद्योग, राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानीको दायरा फराकिलो बनाउने र जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो।
बैठकमा सांसदहरूले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा समेत कोषको लगानी विस्तार गर्न सुझाव दिएका थिए। शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा लगानी गर्दा नाफाभन्दा सेवामूलक पक्षलाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।
कोषको लगानी सामाजिक सुरक्षा, रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा सांसदहरूले जोड दिएका थिए।
बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानी तुलनात्मक रूपमा सुरक्षित क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै लगानी विविधीकरण गर्नुपर्ने बताउनुभयो।

