नेपाललाई बालश्रम शोषणमुक्त मुलुक बनाउन सांसदहरूको जोड



काठमाडौँ, मङ्सिर ९। प्रतिनिधिसभाका सांसदहरूले नेपाललाई बालश्रम शोषणमुक्त मुलुक बनाउन प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा जोड दिएका छन्।

बालश्रम विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलका लागि आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले बालश्रमको मुख्य कारण गरिबी भएकाले त्यसको अन्त्यका लागि राज्यले अभिभावकलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

बैठकमा सांसदहरू गङ्गादेवी श्रेष्ठ, रञ्जु दर्शना, कालीबहादुर सहकारी र प्रकाश पाठकलगायतले विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षामा निरन्तरता दिन उपयुक्त वातावरण निर्माण गर्नुपर्ने र आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष राहतको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए।

खुला सीमानाका कारण आप्रवासी बालश्रमिकको समस्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूले श्रमबाट उद्धार गरिएका बालबालिकाको उचित संरक्षण र पुनःस्थापनाको व्यवस्था नयाँ कानुनमा समेट्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालबालिकालाई शोषणकारी श्रममा लगाउन नहुने जानकारी हुँदाहुँदै पनि कतिपय रोजगारदाताबाट बढी शोषण हुने गरेको बताउनुभयो। उहाँले नयाँ कानुन बनेपछि त्यसको कार्यान्वयन प्रक्रिया सहज बनाउनुपर्ने र बालबालिकाले कुन तहसम्मको काम गर्न पाउने भन्ने विषय स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो।

समितिका सभापति रहबर अन्सारीले रोजगारदातालाई बालश्रम गराउँदा महँगो पर्ने गरी कानुन निर्माण गरिने बताउँदै सबै पक्षसँग विस्तृत छलफल गरेर विधेयक अघि बढाइने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्