पञ्चकन्या गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु



नुवाकोट,मंसिर ९ । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ पञ्चकन्या गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।

गाउँपालिकाका उपाध्यक्ष विमला केसीको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो। अङ्ग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानलाई हिंसाविरुद्ध शून्य सहनशीलताको सन्देशसहित सेतो रिबन लगाएर उद्घाटन गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, रुडेक नेपालका अध्यक्ष मिनकुमार केसी, विभिन्न शाखाका प्रमुख, रुम टु रिडका प्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अभियानले लैङ्गिक हिंसा अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य तथा न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्