घाँटीबाट सिक्री लुट्ने नुवाकोटका ४ सहित पाँच जना गिरोह काठमाडौंबाट पक्राउ
काठमाडौँ,बैशाख १५ — महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानमा लुटपाटमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन्।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चैत १२, १९ र वैशाख ६ गते काठमाडौँका विभिन्न स्थानमा भएका सुन लुटपाट घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाबाट १२.९० ग्राम सुन, पेचकस, ठूलो र साना रेन्ची, मोबाइल, खुकुरी तथा हुडी, ट्राउजर र ज्याकेटलगायतका सामग्री बरामद गरेको जनाएको छ।
काठमाडौँ महानगरपालिका–४ तारकेश्वरको पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

