कात्तिकेश्वर महादेव क्षेत्रको प्रवर्द्धन गर्न सरकारी योजना आवश्यक : डा. महत
नुवाकोट,बैशाख १५ — नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महत ले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्ने बताएका छन्।
सोमबार पञ्चकन्या गाउँपालिका–५ स्थित कात्तिकेश्वर (स्कन्देश्वर) महादेव मन्दिर परिसरमा स्थानीयसँग संवाद गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्। उनले उक्त क्षेत्रमा रहेको सिद्ध लिङ्गबारे आफू हालसम्म अनविज्ञ रहेको उल्लेख गर्दै आगामी दिनमा यसको विकास र प्रवर्द्धनमा पहल गर्ने प्रतिबद्धता जनाए।
यसैबीच, देवघाटधामस्थित महेश सन्यास आश्रमका गुरुहरूको नेतृत्वमा जारी वृहद पाशुपत पदयात्रा अन्तर्गत ६४ ज्योतिर्लिङ्ग पदयात्रा अभियान भइरहेको छ। सोही क्रममा २८ स्थानमध्ये पर्ने भद्रुटारमा रहेको स्कन्देश्वर महादेवमा सोमबार रुद्राभिषेक गरिएको हो।
मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्व विभिन्न ग्रन्थहरूमा उल्लेख रहेको बताउँदै मन्दिर परिसरको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तहमा मन्दिर संरक्षण समिति गठन गरिएको समितिका सचिव रोशन भट्टराईले जानकारी दिए।

