काभ्रे भुम्लु गाउँपालिकामा किसानलाई अनुदानमा मिनीटिलर वितरण



काभ्रे,बैशाख १५ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ले किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ। कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धात्मक बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीका अनुसार किसानको मागका आधारमा कुल २३५ वटा मिनीटिलर वितरण गरिएको हो। कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै कम लगानीमा बढी प्रतिफल लिन सक्ने नीति अनुसार उपकरण वितरण गरिएको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले यस कार्यक्रमले किसानलाई कृषिमा आकर्षित गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा अन्य कृषि औजारसमेत वितरण गर्ने योजना रहेको उनले बताए।

परम्परागत खेती प्रणालीमा निर्भर किसानहरू अनुदानमा आधुनिक उपकरण पाएपछि उत्साहित भएका छन्। भुम्लु गाउँपालिका–९ का किसान भोलानाथ पराजुलीले यसअघि अरुको सहयोगमा खेती गर्नुपरेको बताउँदै अब मिनीटिलर पाएपछि काम सहज हुने बताए।

सोही वडाका भिमानन्द पराजुलीले पनि मिनीटिलर प्रयोगले खेतीमा सहजता र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्